क्वालालम्पुर, असोज १८। अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ६ विकेटको सहज जित हासिल गरेको छ।
क्वालालम्पुरस्थित बायुमास मैदानमा भएको खेलमा मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमै चार विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि पूजा महतोले ३९ रनको योगदान दिँदा कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन्। त्यस्तै रुबी पोद्दारले १५ रन जोडिन्। मलेसियाकी आयना हमिजाले दुई विकेट लिइन् भने नुर दानिया स्युहादा र नुर आलियाले समान एक/एक विकेट झारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९१ रनको योगफल बनाएको थियो। आयना हमिजा ५० रनमा अविजित रहिन् भने कप्तान विनिफ्रेड दुरासिंघमले १५ रनको योगदान दिइन्। नेपालकी सोमु विष्टले दुई विकेट लिन सफल भइन् भने कविता कुँवरले एक विकेट हात पारिन्।
यससँगै पाँच खेलको शृङ्खलामा नेपाल र मलेसिया १–१ को बराबरीमा पुगेका छन्। नेपालले आगामी जनवरीमा स्वदेशमा हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरूप यो शृङ्खला खेलेको हो।




