म्याग्दी, असोज १८। लगातारको वर्षाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमाल आधार शिविर भ्रमण शनिबार र आइतबार दुई दिनका लागि रोक लगाइएको छ।
वडा नम्बर ४ नारच्याङले सम्भावित बाढी, पहिरो र हिमपातको जोखिमलाई मध्यनजर गर्दै आधार शिविर जाने मौरिस हर्जोग पदमार्ग तथा भ्रमणमा अस्थायी रोक लगाउने निर्णय गरेको वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिनुभयो।
‘‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण उच्च जोखिम हुने चेतावनी दिएपछि पर्यटकको सुरक्षाका लागि यस्तो निर्णय गरिएको हो,’’ वडाध्यक्ष फगामीले भन्नुभयो।
दशैं बिदामा पदयात्रीहरू प्रायः सो मार्ग हुँदै आधार शिविर पुग्ने गरेका छन्। तर, मिस्त्रीखोलाको सतह बढ्नु, साना खोलामा बाढी आउनु र आधार शिविरमा हिमपात हुने सम्भावना देखिएकाले पर्यटकलाई जोखिम हुन सक्ने भएकाले रोक लगाइएको स्थानीय पर्यटनकर्मी तेजबहादुर गुरुङले बताउनुभयो।
यसअघि जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै आधार शिविर नजान पर्यटकलाई आग्रह गरेको थियो।




