ओमान, असोज १९ गते।
आईसीसी पुरुष टी–२० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले पहिलो खेलमा रोमाञ्चक जित निकालेको छ।
आइतबार ओमान क्रिकेट एकेडेमीको मैदानमा भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई नेपालले १ रनले हराउँदै चार अंकसहित शीर्षस्थानमा उक्लिएको हो।
यसअघि समूह चरणमा जापानलाई पराजित गरेर दुई अंक जोडेको नेपालले, यो जितसँगै सुपरसिक्समा ४ अंक पुर्याएको छ।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।
ओपनर कुशल भुर्तेल (२८ रन) र आसिफ शेख (५१ रन) बीचको साझेदारीले बलियो सुरुवात दिलायो।
रोहित पौडेलले २० रनको योगदान दिए भने अन्त्यतिर दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले तीब्र गतिमा रन जोड्दै स्कोर १४० पुर्याए।
जवाफमा युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र जोड्न सफल भयो।
नेपालका बलरमध्ये दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे।
त्यस्तै सन्दीप लामिछाने, गुलशन झा र सोमपाल कामीले १÷१ विकेट हात पारे भने युएईका ३ खेलाडी रनआउट भएका थिए।
यो जितपछि नेपालले सुपर सिक्समा ओमानसँगै ४–४ अंक बनाएको छ भने युएई २ अंकमा सीमित भएको छ।
अब नेपालले बाँकी खेलहरूमा कतार, सामोआ र ओमानसँग भिड्ने तालिका रहेको छ।




