गोरखा नगरपालिका–१२ स्थित दशकिलो बजारमा यात्रुबाहक बसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ।
शनिबार दिउँसो करिब २ बजे काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नम्बरको बसले ठक्कर दिँदा स्थानीय ९५ वर्षीया सुकमाया लामा गम्भीर घाइते भएकी थिइन्।
उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। चालक र बस नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।






