काठमाडौं , १५ फाल्गुन । वैदेशिक रोजगार विभागले १९ थान पासपोर्टहरू बरामद गरेको छ ।
फाल्गुन १४ गते आइतबार एसिया पावर रिक्रियुटमेन्ट कन्सल्टेन्ट प्रालिले विभागबाट पूर्वस्वीकृति नलिई अन्तर्वार्ता लिइरहेको अवस्थामा १९ थान पासपोर्टहरू बरामद गरेको जनाएको छ ।
विभागबाट पूर्वस्वीकृति नलिई हेभी ड्राईभर लगायतका विभिन्न पदमा वैदेशिक रोजगारीको लागि अन्तर्वार्ता लिइरहेको अवस्थामा पासपोर्ट बरामद गरेको हो ।
विभागका अनुसार साउदी अरब पठाउन खोजिएका १९ जनाको पासपोर्ट बरामद गरि संचालकलाई नियन्त्रणमा लिएको हो ।
आर्किरोदन कम्पनि लिमिटेडमा पठाउने भनि ठूलो संख्यामा अन्तर्वार्ता लिइरहेको छ भन्ने प्राप्त सूचनाका आधारमा टोली त्यहाँ पगेको थियो ।
त्यहाँ पुग्दा टोलीले करिब २०० को संख्याको उपस्थितिमा अन्तर्वार्ता लिइरहेको फेला पारेको विभागले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालले बताउनुभयो ।






