सिन्धुली, — कमलामाई नगरपालिका–४ धुराफाँटमा ३२ वर्षीया शुसिला वम्जनको भान्सा कोठामै पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको आरोपपछि घटनाले जिल्लामा आक्रोश फैलिएको छ। घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै मृतकका आफन्त र स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय सिन्धुली घेराउ गरेका छन्।
प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्। उनीहरूले शुसिला वम्जनको मृत्यु सामान्य घटना नभई योजनाबद्ध हत्या भएको दाबी गर्दै पीडित परिवारलाई न्याय सुनिश्चित गर्न प्रशासनको ध्यानाकर्षण गराएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा मृतक वम्जनकी सासू र नन्दलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
उक्त घटनाले स्थानीय समुदायलाई शोक र आक्रोशमा डुबाएको छ भने दोषीमाथि कडा कारबाहीको माग दिनानुदिन बढ्दै गएको छ।






