Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

बुद्ध एयरको विमान ओभर रन भई घाँसे झाडीमा भासिँदै दुर्घटना : को–पाइलटसहित सात जना घाइते


पुस १९, झापा । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति अवतरण गर्ने क्रममा बुद्ध एयरको विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।

काठमाडौँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर–७२ जहाज शुक्रबार राति ९ः१० बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी तथा माटोमा भासिँदै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिनुभयो।

उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य तथा एक जना विमान इन्जिनियर सवार थिए। दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठसहित अन्य छ जना यात्रु घाइते भएका हुन्।

घाइते हुनेमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौँ–१६ की ४० वर्षीया मुना घतानी तथा काठमाडौँ–१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै सबै यात्रुलाई जहाजबाट सुरक्षित रूपमा बाहिर निकाली घाइतेलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल पुर्‍याएको थियो। टाउको र अनुहारमा चोट लागेका को–पाइलट सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिनुभयो।

प्रहरीका अनुसार उक्त जहाज काठमाडौँबाट शुक्रबार राति ८ः२३ बजे उडेको थियो। दुर्घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक लिम्बुको कमान्डमा करिब ७० जना प्रहरीको टोली उद्धार कार्यमा खटिएको थियो।

घटनापछि भद्रपुर विमानस्थलको उडान सेवा केही समय प्रभावित भएको थियो। दुर्घटनाको कारणबारे प्राविधिक जाँच तथा थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom