जेठ १० गते। सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको छ।
सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल भएको नेकपा (एमाले)को संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको उनको भनाइ छ।
प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ। सभाको बैठक अघि कार्यदलले सहमति जुटाउन बैठक बस्ने जनाएको छ। उक्त कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र नेता परियार छन्।





