![]() |
| फाइल तस्विर |
मतगणनास्थल वरिपरि कडा सुरक्षा व्यवस्था रहनेछ। सुरक्षाकर्मीबाहेक कसैले पनि हतियार, विस्फोटक वा धारिलो वस्तु लैजान पाउने छैनन्। मतगणनास्थलभित्र मोबाइल फोन र क्यामेरा लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ।
मतगणनामा निर्वाचन अधिकृत, गणनामा खटिएका कर्मचारी, उम्मेदवार वा दलका आधिकारिक प्रतिनिधि, सुरक्षाकर्मी, आयोगका प्रतिनिधि तथा स्वीकृत पर्यवेक्षक मात्र सहभागी हुन पाउनेछन्। मादक पदार्थ सेवन गरेका वा परिचयपत्र नभएका व्यक्तिलाई प्रवेश दिइने छैन।
निर्देशिकाले राजनीतिक दलसँग आबद्ध ट्रेड युनियनका पदाधिकारी वा सदस्यलाई मतगणनामा संलग्न गराउन निषेध गरेको छ। यसले कर्मचारीको निष्पक्षता कायम गर्दै मतगणनाप्रति जनविश्वास बढाउने आयोगको अपेक्षा छ। साथै, मतगणनामा खटिने कर्मचारीलाई अनिवार्य अभिमुखीकरण तालिम दिने व्यवस्था पनि गरिएको छ।
मतदानपछि मतपेटिका मतगणनास्थलमा ल्याई सुरक्षित कोठामा राखिन्छ। कोठाको ढोका र झ्यालमा निर्वाचन अधिकृतको लाहाछाप लगाइन्छ र उम्मेदवार वा उनका प्रतिनिधिले चाहेको खण्डमा आफ्नै लाहाछाप पनि लगाउन सक्नेछन्। उक्त कोठामा सीसीटीभी जडान अनिवार्य गरिएको छ।
मतदाताको गोपनीयता सुनिश्चित गर्न कम्तीमा दुई वा सोभन्दा बढी मतदान केन्द्रका मतपत्र मिसाएर गणना गरिन्छ। यसले कुनै निश्चित क्षेत्र वा समूहको मतदान प्रवृत्ति पहिचान हुन नदिने उद्देश्य राखेको छ।
दुई वा सोभन्दा बढी उम्मेदवारलाई छाप लगाइएका, चिन्ह नबुझिने, च्यातिएका, जाली मतपत्र, मतपेटिकाबाहिर भेटिएका वा आयोगले तोकेको चिन्हबाहेक अन्य चिन्ह प्रयोग गरिएका मतपत्र बदर हुनेछन्।
यदि उम्मेदवारबीच सदर मत संख्या बराबर भएमा गोलाप्रथामार्फत विजेता छनोट गरिनेछ। गोलाबाट छानिएको उम्मेदवारले एक मत बढी पाएको सरह मानिने व्यवस्था निर्देशिकामा छ।
मतगणना चलिरहँदा आधारसहित पुनः गणनाको माग गर्न सकिन्छ। तर, गणना सम्पन्न भई मुचुल्का भइसकेपछि पुनः मतगणनाको माग गर्न पाइने छैन।
मतगणनाको परिणाम एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली (आईईआईएमएस) मा प्रविष्ट गरी आयोगको केन्द्रीय सर्भरमा पठाइनेछ। साथै, मतगणनास्थल बाहिर डिस्प्ले बोर्ड, माइक वा लाउडस्पिकरमार्फत सर्वसाधारणलाई नतिजाको जानकारी दिइने व्यवस्था गरिएको छ।






