फाल्गुन १६, शुक्रबार बिहान भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर भोटेकोशी गाउँपालिका–२ मा ६.१ रेक्टर स्केलको भूकम्प गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार, भूकम्पका कारण एक घर पूर्ण रूपमा भत्किएको छ भने तीन घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। तीमध्ये एक गोठ र एक प्रहरी कार्यालयसमेत प्रभावित भएका छन्।
भूकम्पका कारण तीन परिवारलाई विस्थापित हुनुपरेको छ भने छ जना सामान्य घाइते भएका छन्। त्यस्तै, कारागारमा रहेका एक कैदी भाग्ने क्रममा लड्दा दाहिने हातको पातो सर्दा सामान्य चोट लागेको छ। उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।
यस भूकम्पपछि भोटेकोशी गाउँपालिका–३ को लुसारे क्षेत्रमा सुक्खा पहिरो गएको छ। यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको एकतले जस्ताको छानो भएको ब्यारेकमा सामान्य क्षति पुगेको जानकारी प्राप्त भएको छ।
नेपाल प्रहरीले आपत्कालीन अवस्थामा सहायता आवश्यक परेमा १०० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।





