Breaking Posts

Type Here to Get Search Results !

ठेकेदारले मजदुरको ज्याला नदिएपछि कम्पनीको गाडी र डोजर नियन्त्रणमा - Brighter Network

Top Post Ad


म्याग्दी – म्याग्दीको सडक निर्माण योजनामा संलग्न मजदुरहरूले दुई वर्षदेखि नपाएको ज्यालाको माग गर्दै ठेकेदार कम्पनीको गाडी र डोजर नियन्त्रणमा लिएका छन्।

बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको रणबाङ–दरबाङ सडक स्तरोन्नति परियोजनामा काम गरेका २५ जना मजदुरले करिब ३० लाख रुपियाँ पारिश्रमिक पाउन बाँकी छ। मजदुरहरूले बारम्बार रकम माग गर्दा पनि ठेकेदार कम्पनी क्याराभान कन्स्ट्रक्सनले अटेर गरेपछि अन्ततः गाडी र डोजर रोक्ने बाध्यता आएको हो।

रातभर पहरामा मजदुर
रुकुम चौरजहारी नगरपालिका-८ का मजदुर तुलराम सार्कीका अनुसार २०७८ सालमै काम सकिए पनि उनीहरूले अहिलेसम्म आफ्नो ज्याला पाएका छैनन्। “हामीले पटक-पटक माग्यौं, तर ठेकेदारले हाम्रो कुरा सुन्नुभएन,” सार्कीले भने। ज्याला नपाएपछि मजदुरहरू बिहान-बेलुका छाक टार्नसमेत समस्यामा परेका छन्।

सोमबार राति ठेकेदार कम्पनीले उपकरण कार्यस्थलबाट लैजान थालेपछि मजदुरहरूले प्रहरीलाई खबर गरी गाडी बेनीमा रोक्न लगाए। मंगलबार रातभर मजदुरहरू गाडीको छेउमा बसेर पहरा दिएका थिए।

प्रशासन मौन, मजदुरहरू असहाय
मजदुरहरूको यो संघर्ष जिल्ला प्रशासन कार्यालयसम्म पुगिसकेको छ। पटक-पटक छलफल भए पनि ठेकेदार कम्पनीले रकम भुक्तानी नगरेपछि मजदुरहरूले आन्दोलन गर्न बाध्य भएको बताएका छन्।

क्युपेक नेपालका केन्द्रीय सचिव बलादेवी राईले ठेकेदार चन्द्रप्रकाश थकालीले उल्टै मजदुरहरूलाई धम्क्याएको आरोप लगाउँदै भने, “ज्याला नपाएसम्म गाडी र डोजर नछाड्ने, आवश्यक परे आन्दोलन चर्काउनेछौं।”

हाल मजदुरहरूले बेनी नगरपालिका गेटअगाडि दुई दिनदेखि डोजर र गाडी रोकेर राखेका छन्। उनीहरूले प्रशासन र प्रहरीसँग पनि न्यायको गुहार मागे तर कुनै ठोस पहल भएको छैन। मजदुरहरूले आफ्नो मेहनतको मूल्य नपाएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्।

post bottom ads

Ads Bottom