झापा,
झापाको भद्रपुरमा एक अवकाशप्राप्त शिक्षकको योजनाबद्ध हत्या भएको घटना सार्वजनिक भएको छ। प्रारम्भिक प्रहरी अनुसन्धानले एनेस्थेसियामा प्रयोग हुने शक्तिशाली औषधि ‘प्रोपोफोल’ सिरिन्जमार्फत घाँटीमा प्रहार गरी हत्या गरिएको देखाएको छ।
भद्रपुर नगरपालिका–१०, त्रिवेणी टोलका ६६ वर्षीय खेमराज ढकालमाथि बिहीबार साँझ आफ्नै घरमा आक्रमण भएको थियो। साँझ करिब ६:२० बजे घरमै बसिरहेका बेला आक्रमणकारीले साथमा ल्याएको सिरिन्ज प्रयोग गरी औषधि शरीरमा प्रवाह गराएको प्रहरीको भनाइ छ। गम्भीर अवस्थामा अस्पताल पुर्याइएका ढकाललाई चिकित्सकले मृत घोषणा गरेका थिए।
शल्यक्रियाअघि बिरामीलाई बेहोस बनाउन प्रयोग गरिने उक्त औषधिको उच्च मात्रा शरीरमा पुगेपछि उनको ज्यान गएको प्रारम्भिक निष्कर्ष छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाका २६ वर्षीय दिपेशकुमार सिंहलाई पक्राउ गरेको छ। उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन्।
प्रहरीका अनुसार सिंहले आफ्नै कलेजमा अध्ययनरत एक कनिष्ठ छात्राको परिवारलाई लक्षित गरी घटना घटाएका थिए। मृतक ढकाल ती छात्राका पिता हुन्। प्रारम्भिक अनुसन्धानले प्रेम प्रस्ताव अस्वीकार भएपछि व्यक्तिगत रिसका कारण घटना योजनाबद्ध रूपमा घटाइएको संकेत दिएको छ।
प्रहरी स्रोतका अनुसार आरोपितले यसअघि पनि ती छात्राको तस्बिर सम्पादन गरी बदनाम गर्ने प्रयास गरेको र सो विषयमा इलाका प्रहरी कार्यालय धरानमा उजुरीसमेत परेको थियो। घटनाको दिन बिहानैदेखि उनी ढकालको घर आसपास घुमफिर गर्दै ‘शिक्षक चाहिएको’ बहाना बनाई घरभित्र प्रवेश गरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रयोग गरिएको औषधिको प्रकृति र मात्राबारे थप प्रयोगशाला परीक्षण भइरहेको छ। पक्राउ परेका सिंहविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






