आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै गरिएको विशेष सुरक्षा सर्च अपरेसनका क्रममा स्याङ्जामा अवैध हातहतियार र विस्फोटक सामग्रीसहित दुई जना व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा प्रहरी चौकी विरुवा–अर्चलेबाट खटिएको विशेष टोलीले आज मंगलबार स्याङ्जा जिल्लाको विरुवा गाउँपालिका–२ झागडी क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा भरुवा बन्दुक र सोसँग सम्बन्धित सामग्री बरामद गरेको हो। घटनापछि ती सामग्री राख्ने दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा विरुवा गाउँपालिका–२ झागडी निवासी ६६ वर्षीय रोम बहादुर राना र ६९ वर्षीय बिर बहादुर थापा रहेका छन्।
प्रहरीले उनीहरूको नियन्त्रणबाट फलामको गजसहितका तीन नाले भरुवा बन्दुक, ४८० ग्राम बारुद, १३५ थान छर्रा, फलामका चिम्टा, छुच्ची, सोडा, डेटोनेटर, सेफ्टी फ्युज, गन्धक, प्लास्टिक एक्सप्लोसिभ किरकी (PEK), बुलेट, खोका, केप तथा बाघको दाहाजस्तो देखिने एक थान नुकिलो वस्तु समेत बरामद गरेको छ।
बरामद सामग्रीमध्ये केही विरुवा गाउँपालिका–२ झागडीस्थित सामुदायिक जंगलको ओडारबाट र केही घर नजिकैको झाडीबाट फेला परेको प्रहरीले जनाएको छ। घटनालाई गम्भीर मान्दै थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।






