Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

६५ तोला सुनसहित पक्राउ परेका प्रेम थारु ‘पटके अभियुक्त’ पुष्टि, प्रहरीमाथि आक्रमणपछि गोली चलाउनुपरेको खुलासा



काठमाडौंमा ६५ तोला सुनसहित पक्राउ परेका प्रेम थारु पटके अभियुक्त रहेको खुलेको छ। विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा खोजी सूचीमा रहेका थारुलाई प्रहरीले बुधबार राति नागार्जुन नगरपालिका–६, पुरीगाउँस्थित सडकबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जाँचका क्रममा थारुले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको थियो। गोली खुट्टामा लागेर घाइते भएका थारुको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

नेपालगञ्ज उपमहानगरपालिका–३ घर भएका थारु आपराधिक दुनियाँमा ‘सुप्रिम’, ‘विकास’ र ‘सौरभ’ नामबाट समेत परिचित रहेको प्रहरीले जनाएको छ। उनी काठमाडौं उपत्यकामा भएका श्रृंखलाबद्ध चोरी तथा लुटपाट घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

थारुबाट ७६४.३५ ग्राम सुन (करिब ६५ तोला), १ किलो १५२ ग्राम चाँदी, १५.५५ ग्राम हिरा, नगद १ लाख ६३ हजार ६५५ रुपैयाँ, अमेरिकी डलर १,१०४, भारतीय रुपैयाँ ५,५००, चिनियाँ युआन ८२, श्रीलंकन मुद्रा २०, मलेसियन रिंगेट ३ लगायत अन्य विदेशी मुद्रा बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनी चार दिनअघि मात्रै काठमाडौं महानगरपालिका–६, बौद्ध टुसालस्थित एक घरमा भएको ठूलो चोरी घटनामा समेत संलग्न थिए। रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको थियो। घरधनी कपडा सुकाउन छतमा गएको मौका पारेर गरगहना चोरी गरिएको थियो। सो घटनामा थारुको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको दाबी छ।

प्रहरी अभिलेखअनुसार थारुविरुद्ध यसअघि पनि प्रहरी वृत्त बौद्धबाट दुई पटक मुद्दा दर्ता भएको थियो। २०७९ मंसिर २९ गते चलेको मुद्दामा उनलाई ३ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। कैद सजाय भुक्तान गरिसकेपछि पुनः आपराधिक गतिविधिमा संलग्न भएको तथ्य बाहिरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom