Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

कावासोतीमा एकै घरका सात जना ६ घण्टा बन्धक, मोबाइल र सुन लुटपाट


मङ्सिर ४, नवलपुर ।

नवलपुरको कावासोती–८ मा एकै परिवारका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको खुलेको छ। मङ्गलबार राति ४६ वर्षीय सञ्जय खड्काको घरमा पुगेका दुई जनाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिई करिब ६ घण्टासम्म बन्धक बनाएर लुटपाट गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मास्क लगाएर आएका दुवैले घरभित्रै हातखुट्टा बाँध्दै आतंक पैदा गरेका थिए। उनीहरूले एक थान आइफोन, दुई थान रेडमि मोबाइलसुनका बाला लुटेको प्रहरी उद्धृत पीडित परिवारले जनाएको छ। घरका अन्य सामान भने चोरी नभएको बताइएको छ।

प्रहरीले घटनास्थल नजिकैको सिसीटिभी फुटेजमा दुई जना मास्कधारी व्यक्ति देखिएको पुष्टि गर्दै, घटना ज्यानमाथि हमला गर्ने उद्देश्यसहित हुन सक्ने आशङ्कामा अनुसन्धान तीव्र पारेको जनाएको छ। बेलुकी ७ बजेदेखि बन्धक बनाइएका परिवारले राति १ बजेतिर हारगुहार गरेपछि लुटेरा फरार भएको प्रहरीको भनाइ छ।

पीडित सञ्जय खड्काका अनुसार ती व्यक्तिले आफूहरूलाई ‘सामाजिक अभियन्ता’ भन्दै स्थानीय मिटरब्याजीको खोजी र कारबाहीका लागि आएको दाबी गरेका थिए। तर, निरन्तर धम्कीपछि स्थिति तनावग्रस्त बनेको र आफूलाई मुक्का हानेपछि परिवारका सबै सदस्यले प्रतिकार गर्न बाध्य हुँदा उनीहरू भाग्दै मोबाइल र सुनका बाला लिएर फरार भएको उनले बताए।

घटना जिल्ला प्रहरी कार्यालय नवलपुरबाट करिब एक किलोमिटर दूरीमै घटेकाले स्थानीयवासी त्रासमा परेका छन्। स्थानीय कपिलदेव भुसालका अनुसार साँझै भएको यस घटनाले कावासोतीबासी असुरक्षित महसुस गरिरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom