फाल्गुन १५ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गाडीको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। हरिवन नगरपालिका–११ स्थित चिनी मिल गेटबाट १०० मिटर पश्चिमतर्फ हालसम्म पहिचान नभएको गाडीले किच्दा मलङ्गवा नगरपालिका–५ निवासी ४५ वर्षीय बुधेश सहनीको ज्यान गएको हो। उनी हरिवन नगरपालिका–४, तीनघरेस्थित ‘टाइम वार्टर’ पानी फ्याक्ट्रीमा कार्यरत थिए।
इलाका प्रहरी कार्यालय हरिवनको मोबाइल गस्ती टोलीले बिहीबार बिहान २:३० बजे बेवारिसे अवस्थामा शव फेला पारेको थियो। तत्काल नमूना अस्पताल हरिवन पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। प्रहरीका अनुसार बिहीबार बिहान १० बजे मात्र मृतकको सनाखत गरिएको हो।
प्रहरी निरीक्षक किशोर तामाङका अनुसार दुर्घटनामा संलग्न सवारी पत्ता लगाउन राजमार्ग क्षेत्रका सिसिटिभी फुटेजको अनुसन्धान जारी छ। उनले सहनीलाई ठक्कर दिने गाडी पहिचान गर्न महत्वपूर्ण प्रमाण भेटिएको जानकारी दिएका छन्।
यस घटनापछि मृतकका आफन्त र स्थानीयले दोषी गाडी नियन्त्रणमा लिन माग गर्दै तीनघरेस्थित लच्कामा टायर बालेर विरोध प्रदर्शन गरेका छन्। प्रहरीको पहलपछि उनीहरूलाई सम्झाइबुझाइ गरिएको छ भने मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ।





