चैत ४, वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ घर भई हाल ललितपुर गोदावरी नगरपालिका–३ मा बसोबास गर्ने ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बुढीनन्दा नगरपालिका–६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–८ मा बसोबास गर्ने २८ वर्षीय दिपेश रावत रहेका छन्।
प्रहरीका अनुसार बिर्खले माल्टा पठाइदिने भन्दै एक जना पीडितबाट १२ लाख रुपैयाँ लिएको आरोप छ भने दिपेशले क्यानडा पठाइदिने प्रलोभनमा अर्का एक व्यक्तिबाट ४ लाख रुपैयाँ लिएको र पछि दुवैले सम्पर्कविहीन भएको पीडितहरूले उजुरी दिएका थिए।
उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिर्खलाई आइतबार काठमाडौं शंखरापुर नगरपालिका–४ बाट तथा दिपेशलाई सोमबार काठमाडौं महानगरपालिका–२८ बाट पक्राउ गरेको हो।
हाल उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।





