काठमाडौं । बैंकिङ कसुरसम्बन्धी विभिन्न मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–९ बत्तीसपुतली बस्दै आएकी ४० वर्षीया धना शाही रहेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बैंकिङ कसुर मुद्दामा अदालतबाट फैसला भई फरार रहेकी शाहीलाई प्रहरी टोलीले २०८३ भदौ १६ गते बिहान करिब ११ बजे बत्तीसपुतलीबाट पक्राउ गरेको हो।
शाहीविरुद्ध नेपाल सरकार वादी रहेको बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालत, बबरमहलले २०८२ असोज ३० गते फैसला गर्दै दुई दिन कैद र बिगो रु. २ लाख ५० हजारको पाँच प्रतिशतले हुने रु. १२ हजार ५०० जरिवाना ठहर गरेको थियो।
फैसला कार्यान्वयनका लागि पक्राउ परेकी शाहीलाई सोही दिन काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
विभिन्न कार्यालयमा बैंकिङ कसुरका मुद्दा
प्रहरीका अनुसार शाहीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुरसम्बन्धी थप मुद्दासमेत दर्ता रहेको खुलेको छ। तीमध्ये अधिकांश मुद्दामा उनी फरार रहेको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
उपलब्ध विवरणअनुसार उनका विरुद्ध दर्ता भएका विभिन्न बैंकिङ कसुर मुद्दामा रु. १ करोड ७२ लाख ८७ हजार बराबरको कुल बिगो रहेको देखिएको छ।
विभिन्न मुद्दामा रु. ५ लाख, १२ लाख ५० हजार, ३६ लाख ९९ हजार, ८० लाख, १२ लाखलगायतका बिगो दाबी गरिएको प्रहरी विवरणमा उल्लेख छ। केही मुद्दा जिल्ला प्रहरी कार्यालय कैलाली, जिल्ला प्रहरी परिसर काठमाडौं तथा काठमाडौंका विभिन्न प्रहरी वृत्तमा दर्ता भएका छन्।
प्रहरीका अनुसार शाहीविरुद्ध दर्ता रहेका सबै मुद्दाको विवरण तथा कानुनी प्रक्रियाबारे थप अनुसन्धान भइरहेको छ।





