सर्लाहीको मलङ्गवा–नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा–४ मा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले बिहीबार राति पैदल हिँडिरहेका व्यक्तिहरूलाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा मलङ्गवा नगरपालिका–३ का ५५ वर्षीय जयप्रकाश जयसवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी उपरीक्षक सरोज राईले जानकारी दिए।
घाइते हुनेहरूमा मलङ्गवा–४ का ५२ वर्षीय जितु राय र भारतको सितामढी निवासी २० वर्षीय राकेश गुप्ता छन्। दुवै जनाको थप उपचारका लागि जनकपुर पठाइएको छ।
दुर्घटनापछि एम्बुलेन्स चालक फरार भएको र एम्बुलेन्सको नम्बर पहिचान भइसकेकोले खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।





