लगातारको वर्षाका कारण विनयी खोलाको डाइभर्सन बगाउँदा सडक क्षति पुगेको र दुम्किवास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखेलालगायत स्थानमा सडक चिप्लो भएर सवारी सञ्चालनमा कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालका अनुसार बुधबार दिउँसोदेखि दाउन्ने क्षेत्रमा सडक चिप्लिएपछि सवारी साधन फसेका छन्, जसका कारण लामो जाम र यात्रुहरुलाई कठिनाइ भएको छ।
प्रहरीले जारी गरेको सूचनामा पूर्वबाट पश्चिमतर्फ जाने ठूला सवारी साधनलाई नारायणघाट–मुग्लिन–पोखरा–स्याङ्जा हुँदै बुटवल जान तथा पश्चिमबाट पूर्व फर्किने सवारीलाई बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन हुँदै यात्रा गर्न अनुरोध गरिएको छ। साना सवारी साधनका लागि गैँडाकोट–पिपलडाँडा सडक खण्ड प्रयोग गर्न सकिने भए पनि लगातारको वर्षाका कारण करिडोरमा समेत पहिरो र बाढीको जोखिम रहेको जनाइएको छ।
मङ्गलबारदेखि विनयी खोलाको डाइभर्सन सात पटक बगाइएपछि आवागमन थप कठिन बनेको छ। प्रहरीका अनुसार उक्त क्षेत्रका सडकहरु अहिले पनि जोखिमयुक्त छन् र कुनै समय पनि थप अवरोध सिर्जना हुन सक्ने सम्भावना रहेको छ।
यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक मार्ग रोज्न आग्रह गरिएको छ।