Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

देशभर बाढीपहिरोका कारण ११ मुख्य राजमार्ग अवरुद्ध, केही एकतर्फी सञ्चालनमा


असार ५ गते । मनसुन सक्रिय भएसँगै देशभर बाढीपहिरोको जोखिम बढेको छ । वर्षासँगैको बाढी र पहिरोले देशका विभिन्न ११ वटा मुख्य राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।


धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, म्याग्दी, गुल्मी, जुम्ला र डोटीका सडकखण्डमा समस्या देखिएको हो । तीमध्ये ६ वटा राजमार्ग पूर्ण अवरुद्ध छन् भने ५ वटा सडक एकतर्फी सञ्चालनमा आएका छन् ।


सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने अरनिको राजमार्गका कोदारी, लार्चा र कोप्लाङमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा महेन्द्र राजमार्ग बाढीले बगाएपछि त्यहाँ पनि सडक ठप्प भएको छ ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्सेमा पहिरो जाँदा बेनी–जोमसोम सडक बन्द छ भने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा भेरी करिडोर पनि बाढीले अवरुद्ध पारेको छ ।


सडकको अवस्थाबारे नेपाल प्रहरीद्वारा सार्वजनिक विवरण अनुसार धनकुटाको रवि–राँके–भेडेटार सडक, काभ्रेको बिपी राजमार्ग, चितवनको नारायणगढ–मुग्लिन सडक, गुल्मीको कालिगण्डकी करिडोर र जुम्लाको जुम्ला–मुगु सडक एकतर्फी खुलाइएको छ ।


प्रहरीका अनुसार जोखिम कायमै रहेको हुँदा यात्रा गर्दा विशेष सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । पहिरो हटाउने र सडक सञ्चालन गर्न डोजर तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom