Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुई किशोरको शंकास्पद मृत्यु, कुटपिटमा संलग्न भएको आशंकामा ६ जना नियन्त्रणमा


झापा, असार १९ — झापाको शिवसताक्षी नगरपालिका–९ मा दुई किशोरको शंकास्पद मृत्यु भएपछि प्रहरीले घटनाबारे सूक्ष्म अनुसन्धान सुरु गरेको छ। मृतकमध्ये १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीसँगको झगडापछि कुटपिट हुँदा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।


घटनाबारे परिवारलाई कुनै जानकारी नदिई उनीहरूले झगडाबाट लागेको चोटको उपचार गराइरहेकै अवस्थामा ज्यान गुमाएका हुन्। थापाको शनिबार र तामाङको बुधबार मृत्यु भएको हो। कुटपिटको घटना असार ११ गते भएको जनाइएको छ।


जिल्ला प्रहरी कार्यालय झापाले कुटपिटमा संलग्न रहेको आशंकामा १६ वर्षभन्दा कम उमेर भएका ६ जनालाई पक्राउ गरेको जनाएको छ। घटनासँग सम्बन्धित उजुरी इलाका प्रहरी कार्यालय झिलझिलेमार्फत प्राप्त भएपछि अनुसन्धान प्रारम्भ गरिएको हो।


जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुका अनुसार, प्रारम्भिक अनुसन्धानमा झगडा र कुटपिटबाट दुबै किशोर गम्भीर घाइते भएको पुष्टि भएको छ। थप चिकित्सकीय रिपोर्ट, पोस्टमार्टम तथा अन्य प्रमाणको आधारमा कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।


स्थानीय स्तरमा किशोर समूहबीच झगडा, कुटपिट र सामूहिक द्वन्द्वका घटना पछिल्लो समय बढ्दै गइरहेको छ। यस घटनाले अभिभावक, शिक्षक र स्थानीय निकायलाई सचेत र जिम्मेवार भएर सामुदायिक सुरक्षा र मार्गदर्शनको खाँचो औंल्याएको छ।


प्रहरीले घटनाबारे निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने जनाएको छ। मृतक परिवारले न्यायको माग गरेका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom