भारतको उत्तराखण्डमा धादिङका चारजना सम्पर्कविहीन
साउन २३ गते, धादिङ । भारतको उत्तराखण्डमा धादिङका चार जना नेपाली सम्पर्कविहीन भएका छन्। धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ कामका सिलसिलामा उत्तराखण्ड गएका थिए। तर, केही दिनयता उनीहरुसँग सम्पर्क हुन नसकेको परिवारका सदस्यहरूले जानकारी गराएका छन्।
घिमिरेका अनुसार खोजीका लागि गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई आधिकारिक अनुरोध गरिएको छ। साउन २० गते उत्तराखण्डको धराली बजारमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको र अहिलेसम्म खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। उनीहरू पनि सोही बाढी प्रभावित क्षेत्रमा फसेको हुनसक्ने आशंका गरिएको छ।