काठमाडौं, भदौ ४ – विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालक र प्रिन्सिपलहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। आफूहरूको माग र सुझावलाई विधेयकले बेवास्ता गरेको भन्दै उनीहरूले पाँच बुँदे मागसहित सडकमा उत्रिएका हुन्।
माइतीघरबाट सुरु भएको र्याली नयाँ बानेश्वरसम्म पुगेको थियो। प्रदर्शनकारीले विधेयकमा रहेको पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने, विद्यालयमा पोसाक र खाजाजस्ता वस्तु अनिवार्य गर्ने प्रावधान खारेज गर्नुपर्ने माग गरेका छन्।
त्यसैगरी कम्पनी ऐनअन्तर्गत दर्ता विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको व्यवस्थाविरुद्ध पनि उनीहरूले आपत्ति जनाए। साथै, विधेयकमा समेटिएको ४५५ आरक्षण सम्बन्धी व्यवस्था तत्काल हटाउनुपर्ने मागसमेत राखिएको छ।
निजी विद्यालय सञ्चालकहरूको भनाइमा, विधेयक कार्यान्वयन भए विद्यालय सञ्चालन कठिन बन्ने र गुणस्तरीय शिक्षामा प्रत्यक्ष असर पर्ने खतरा रहेको छ।