स्याङ्जा, भदौ २ गते ।
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५ द्वारभञ्ज्याङमा एक १३ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । श्री सरस्वती आधारभूत विद्यालय मिनाङ्कोटमा कक्षा ८ मा अध्ययनरत निसान थापा आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार बालक विद्यालयमा परीक्षा सकेर घर फर्किएका थिए । त्यस समयमा उनी घरमै बहिनीसँग रहेका थिए भने उनकी आमा भने छिमेकीको मेलामा गएकी थिइन् । मेलाबाट घर फर्केपछि छोरालाई नदेखेपछि आमा खोजी गर्ने क्रममा घरकै आँटीमा रहेको बाकसभित्र निसानको शव फेला परेको हो ।
घटनाबारे जानकारी पाएलगत्तै गएराति नै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । हाल घटनास्थललाई प्रहरीले सिलबन्दी गरी थप अनुसन्धान अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।