बैतडी, भदौ २ – समुदायलाई स्वास्थ्य सेवा दिँदै आएकी २४ वर्षीया भागरथी कुँवर आइतबार बेलुकी आफ्नै कोठामा मृत भेटिएकी छन्। पुर्चौडी नगरपालिका–१०, विजयपुर स्वास्थ्य चौकीमा अनमीका रूपमा खटिएकी उनी झुण्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
घरदेखि टाढा कार्यरत भएकी कुँवर स्थानीयस्तरमै कोठा लिएर बस्दै आएकी थिइन्। जीवनलाई सेवा–पेशासँग जोडेर अघि बढाएकी उनी केही महिनाअघि मात्र वैवाहिक जीवनमा बाँधिएकी थिइन्। उनका श्रीमान नेपाली सेनामा कार्यरत छन्।
घटनाबारे सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा टोली खटिएको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो।
अचानक भएको यस घटनाले गाउँ शोकमग्न बनेको छ। समुदायमा नजिककी स्वास्थ्यकर्मी गुमाउँदा स्थानीयहरू स्तब्ध बनेका छन्। जसका हातले सयौं बिरामी उपचार पाउँथे, त्यही हात अब चुप लागेका छन्।





