गाउँपालिकाका लेखा अधिकृत घुससहित पक्राउ
सुर्खेतको मंगलगडी चोकबाट नियन्त्रणमा
दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्कीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले शुक्रबार कार्कीलाई नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, कार्कीले गाउँपालिकाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो।
उजुरीका आधारमा खटिएको टोलीले कार्कीलाई सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट पक्राउ गरेको हो।
आयोगले पक्राउ परेका कार्कीविरुद्ध थप अनुसन्धान भइरहेको जनाएको छ।




