असोज ५, पोखरा
लगातारको वर्षापछि पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा आउने भएको छ। करिब ४० घण्टादेखि बन्द रहेको मुग्लिन–नारायणघाट सडकखण्ड खोल्न धमाधम पहिरो पन्छाउने काम भइरहेको सडक विभागले जनाएको छ।
विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार वर्षा रोकिएमा साँझसम्म सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
“मुख्य समस्या मुग्लिन–नारायणघाट र अरनिको राजमार्गमा देखिएको छ। मुग्लिन–नारायणघाट सडक आजै सञ्चालन गर्ने र अरनिको राजमार्ग तीन दिनभित्र सञ्चालन गर्ने गरी काम भइरहेको छ,” उहाँले बताउनुभयो। “दसैँमा उपत्यकाबाट बाहिरिने यात्रु बाटोमा अलपत्र नपरून् भन्ने हाम्रो प्रयास हो।”
विभागका अनुसार हाल देशभर १० राजमार्ग पूर्णरूपमा अवरुद्ध छन्। तीमध्ये पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी–भण्डारा–मलेखु सडक, गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी, रानी–विराटनगर–धरान–हिले सडक र कोसी राजमार्गलगायतका खण्डहरू प्रमुख हुन्।




