असोज १७, बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक बुधबार बिहान जनकपुरबाट काठमाडौं जाँदै गरेको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको छ ।
ना ५ख ८५३७ नम्बरको बस ब्याक हुँदा दुईवटा मोटरसाइकल किचिँदा बारा फेटाका २५ वर्षीय मकेश्वर पटेल र पर्साकी २६ वर्षीया कविता देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा चार जना घाइते भएका छन्, जसमा दुई साना बालबालिकासहित मकेश्वरकी पत्नी र अर्को मोटरसाइकल चालक परेका छन् । घाइतेहरूको उपचार मकवानपुरको सहकारी अस्पतालमा भइरहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनापछि केही समय रोकिएको सडक एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।




