कात्तिक २ गते, काठमाडौं ।
आज कात्तिक कृष्ण त्रयोदशीका दिन देशभर काग तिहार पर्व मनाइँदैछ । हरेक वर्ष झैँ यस दिन बिहानै कागलाई पूजा–आराधना गरी मीठा–मीठा परिकार र दही–भात खुवाउने परम्परा रहँदै आएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, यो वर्ष शास्त्रसम्मत रूपमा काग तिहार मनाउनुपर्ने शुभ समय आज बिहान सूर्योदयकालमै परेको छ ।
हिन्दू शास्त्रअनुसार कागलाई यमराजका दूत (सन्देशवाहक) मानिन्छ । यमराजले लोकका समाचार कागमार्फत सुन्ने भएकाले आजको दिन कागलाई पूजा गरी मीठा परिकार अर्पण गरेर सुख, शान्ति र शुभसन्देश प्राप्तिको कामना गरिन्छ ।
लोकविश्वासमा पनि काग घर वरिपरि कराएमा शुभ समाचार आउने मान्यता रहेको छ । “काकेन दधि भक्षितम्” भन्ने संस्कृत उक्ति अनुसार कागलाई दही–भात मन पर्ने भएकाले आजका दिन विशेष गरी दही–भात खुवाउने परम्परा रहिआएको छ ।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना हुने परम्परा छ । हनुमानढोकाको मन्दिरमा कागको ठूलो मूर्ति समेत स्थापना गरिएको छ ।
तिहार पर्व यमराज र धर्मराजसँग सम्बन्धित मानिन्छ — दुष्कर्म गर्नेले यमदण्ड पाउने र सत्कर्म गर्नेले धर्मराजको कृपा प्राप्त गर्ने विश्वास छ ।
यसै प्रसङ्गमा शनिबार साँझदेखि नै यमदीपदान सुरु भएको छ, जुन दक्षिणतर्फ फर्काएर बाल्ने वैदिक विधि हो । शास्त्रअनुसार यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास गरिएको छ ।
यस वर्ष तिथिको घटबढका कारण शनिबार साँझबाटै यमपञ्चक (तिहार) सुरु भएको हो । शनिबार नै धनतेरस पर्व पनि मनाइएको थियो, जसमा गरगहना र तामाका भाँडाकुँडा किन्ने परम्परा रहँदै आएको छ ।
धार्मिक मान्यताअनुसार यस दिन गरगहना र भाँडा–कुँडा किनेमा देवी लक्ष्मी स्थायी रूपमा घरमा वास गर्ने विश्वास गरिन्छ ।