Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हरिबोधिनी एकादशीमा तुलसी–दामोदर विवाह, देशभर विशेष पूजा–आराधना


कात्तिक १५,

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज भगवान् विष्णुको प्रतीक तुलसी र दामोदर (विष्णु) को विवाह गरी हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिसाथ मनाउँदै छन्।

प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ। आसार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी का दिन क्षीरसागरमा विश्राममा गएका भगवान् विष्णु आजका दिन जाग्रत हुने विश्वास रहिआएको छ। यस कारण आजको दिनलाई विशेष धार्मिक महत्व दिइन्छ।

चार महिनासम्म विष्णु निद्रामग्न रहने भएकाले यस अवधिमा विवाह, ब्रतबन्धजस्ता माङ्गलिक कार्य नगर्ने परम्परा छ। वर्षा र प्राकृतिक विपत्तिका कारण यो समय यात्रा नगर्न शुभ मानिन्छ।

घरघरमा हरिशयनी एकादशीमा रोपिएको तुलसी मठलाई गाईको गोबर र रातो माटोले पोतेर, फूलमाला र बत्तीले सजाइन्छ। त्यसपछि तुलसी र दामोदरको प्रतीकात्मक विवाह गरिन्छ। विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गर्ने परम्परा पनि छ।

कात्तिक महिनाभर तुलसीमा देवदेवीहरूको वास हुने विश्वास छ। तुलसीको उद्यापन अग्निस्थापनासहित विशेष पूजा र हवन गरी सम्पन्न गरिन्छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापनासहित हवन र पूजा गर्न सकिन्छ।

तुलसी धार्मिक र वैज्ञानिक दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यसको सुगन्धले वातावरण पवित्र बनाउने, रोगाणु नष्ट गर्ने र विषालु जन्तु भगाउने विश्वास छ। तुलसीका पात र रसले रुघाखोकी, औलो र अन्य रोगमा औषधिको काम गर्छन्।

तुलसीको पातबाट बनेको चिया रोग प्रतिरोधात्मक क्षमता बढाउने मानिन्छ। कात्तिक महिनामा तुलसीको माला धारण गर्नु र भगवान् विष्णुलाई तुलसीपत्र अर्पण गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ। गरुड पुराण अनुसार, एक तुलसीपत्र अर्पण गर्दा दश हजार गाई दान बराबरको फल प्राप्त हुन्छ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा विराजमान गराई यात्रा निकाल्ने परम्परा पनि छ। राति भक्तजनहरूले “गोविन्द उठ्नुस्, तपाईँ सुते जगत् सुत्छ” भन्दै शङ्ख, घण्टा र ढोल बजाएर विष्णुलाई जागाइन्छ। यसलाई मानवका ज्ञानेन्द्रिय र कर्मेन्द्रिय नियन्त्रण गर्ने प्रतीकका रूपमा लिइन्छ।

कृषकहरूले आज उखुको बोट तुलसी मठमा गाड्छन् र अन्न त्यागी फलाहार (सखरखण्ड, पिँडालु, वनतरुल आदि) सेवन गर्छन्। यस्तो व्रतले पाप नाश, पुण्य वृद्धि र मोक्ष प्राप्त हुने विश्वास रहिआएको छ। ठूलो एकादशीका नामले पनि चिनिने यस दिनको व्रतले हजार अश्वमेध तथा राजसूय यज्ञ बराबरको फल दिने भनाइ छ।

धार्मिक ग्रन्थहरूमा कात्तिक महिनामा स्नान, दान, जप र होमले पापमोचन हुने उल्लेख छ।

आज धादिङको नीलकण्ठ नगरपालिका–४ मा रहेको ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लागेको छ। त्यसैगरी काठमाडौँका चार नारायण — चाँगुनारायण, शेषनारायण, विशङ्खुनारायण र इचङ्गुनारायण — मन्दिरमा पनि भक्तजनहरूको भीड लागेको छ। यहाँ पुग्न नसक्नेले बूढानीलकण्ठ नारायणस्थानको दर्शन गरे चारै नारायणको दर्शन बराबरको फल प्राप्त हुने विश्वास छ।

नारायणहिटस्थित चातुर्व्युह नारायणस्थानमा पूजा, आराधना र दर्शन गरे पनि त्यही फल प्राप्त हुने धार्मिक मान्यता रहेको मठाधीश डा. राजेश्वरानन्दले बताएका छन्। देशभरका नारायण मन्दिरहरूमा आज विशेष पूजा र आराधनासहित हरिबोधिनी एकादशी पर्व उल्लासपूर्वक मनाइँदैछ।

Top Post Ad

post bottom ads

Ads Bottom