तेन्जिङ–हिलारी विमानस्थल लुक्लामा मौसम असामान्य भएकाले जहाज उड्न नसक्दा करिब ६०० भन्दा बढी पर्यटक त्यहाँ अड्किएका छन्। लुक्लाका पर्यटन व्यवसायी तोया श्रेष्ठका अनुसार गाडी पुग्ने अन्तिम बिन्दु सुर्केमा पनि पर्यटकको भीड अत्यधिक छ, जसका कारण बासको अभाव सिर्जना भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण, लुक्लाका वरिष्ठ एटिसी अफिसर अमनचन्द्र झाले दृश्यता अत्यन्त न्यून भएकाले सबै विमान उडान रोकिएको बताए। हाल लुक्ला–फाप्लु बीच हेलिकोप्टरबाट मात्रै सीमित आवतजावत भइरहेको उनले जानकारी दिए। रामेछापबाट लुक्ला उडानको प्रतीक्षामा सयौँ पर्यटक रहेका छन्। सामान्यतया तारा, सीता र समिट एयरले दैनिक करिब ३० उडान सञ्चालन गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार सगरमाथा आधार शिविर क्षेत्रमा मात्रै १,४९० पर्यटक रहेका छन्। गोरक्षेपमा २२०, लोबुचेमा २३५, दिङबुचेमा १,००० र थुक्लामा ३५ जना पर्यटक रहेका छन्। उनले सामान्य आवतजावत भने भइरहेको बताए।
नाम्चेबजार आसपासका क्षेत्रमा करिब १,२०० पर्यटक रहेका र समग्र खुम्बु क्षेत्रमा साढे पाँच हजारजति पर्यटक अलपत्र रहेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले जानकारी दिए। नाम्चेमा करिब ३,५०० पर्यटकलाई बास दिन सक्ने क्षमता रहेकाले खानबासको ठूलो समस्या नभएको उनको भनाइ छ। होटल व्यवसायी संघले पनि नियमित दरमा नै सेवा उपलब्ध गराइरहेको उनले बताए।
तर, सुर्केदेखि सल्लेरीसम्म सडकमार्ग प्रयोग गर्ने गाडी सञ्चालकहरूले भने मौसम प्रतिकूलताको मौका छोपेर अत्यधिक भाडा लिने गरेको गुनासो व्यवसायीहरूले गरेका छन्। सामान्य अवस्थामा प्रतिव्यक्ति तीन हजार रूपैयाँ लिने गाडीले अहिले १० हजार रूपैयाँसम्म असुल्न थालेका छन्। एउटै जिपको रिजर्भ भाडा ५० देखि ६० हजार रूपैयाँसम्म पुगेको बताइन्छ। यसले पर्यटकहरूमा नकारात्मक सन्देश पुग्ने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले हिमपात र वर्षाका कारण हुन सक्ने जोखिम न्यूनीकरण तथा उद्धारका लागि जिल्ला सुरक्षा समिति तयारी अवस्थामा रहेको बताइन्। “दिङबुचेभन्दा माथिल्लो क्षेत्रलाई बढी संवेदनशील मानिएको छ। अहिले कुनै ठूलो समस्या आएको छैन, तर आपत पर्नासाथ तत्काल उद्धारका लागि सबै निकाय तयारीमा छन्,” पाण्डेले भनिन्।
उहाँका अनुसार यातायात व्यवसायीले मनपरी भाडा लिएको आधिकारिक जानकारी नआएको भए पनि त्यसबारे सूचना पाए तुरुन्त कारबाही गरिनेछ।
यसैबीच, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले मुख्य पर्यटन याममा मौसम असामान्य हुँदा खुम्बु आउने केही पर्यटक रामेछापमा नै रोकिँदा अन्य गन्तव्यतर्फ मोडिन थालेको र यसले खुम्बु क्षेत्रको पर्यटनमा असर पारिरहेको बताए।




