जेन जी आन्दोलनको क्रममा कास्की जिल्लामा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति २०८२ भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा कास्कीका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरू, निजी घर र पसलहरूमा आगजनी, तोडफोड तथा लुटपाट गर्ने घटनाको अनुसन्धानका क्रममा थप दुई व्यक्तिलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा मादी गाउँपालिका–५ का २५ वर्षीय रोशन सापकोटा र पोखरा महानगरपालिका–१७ घारीकुलोकी ३८ वर्षीया विमला सापकोटा रहेका छन्।
उनीहरूलाई आन्दोलनका क्रममा मानिसहरूलाई माइकिङ गर्दै उक्साहट गर्ने, घर तथा पसलमा तोडफोड गर्न आग्रह गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसूरमा चार दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
जेन जी आन्दोलनका क्रममा कास्की जिल्लासहित देशभरकै विभिन्न स्थानमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान र अनुसन्धान कार्य समेत जारी रहेको प्रहरीले जनाएको छ।






