Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्याङ्जा अर्जुनचौपारी–पोखरा सम्पर्क समाजको छैठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गोविन्द काफ्ले निर्वाचित


कात्तिक २२,  पोखरा । स्याङ्जा अर्जुनचौपारी–पोखरा सम्पर्क समाजको चौथो साधारण सभा तथा छैटौँ अधिवेशन पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। समाजकी अध्यक्ष जमुना काफ्ले चापागाईँको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य ब्रिटिस सेनाका मेजर लक्ष्मी प्रसाद गुरुङले गरेका थिए भने अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी विशिष्ट अतिथि रहेका थिए।

संस्थाका निवर्तमान अध्यक्ष एवम् अर्जुनचौपारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डा. भवानी शङ्कर पौडेल र समाजसेवी शैलेन्द्र घिमिरे रहेको उक्त कार्यक्रममा अर्जुनचौपारीबाट पोखरा र आसपासका क्षेत्रमा बसोबास गरिरहेका समाजका सदस्यहरू, स्थानीय व्यक्तित्व र अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिहरूले समाजले आपसी सहयोग, एकता र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा यसले अझ प्रभावकारी सामाजिक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

संस्थाका सचिव एवम् कुशल कार्यक्रम प्रस्तोता गोविन्द सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेजर गुरुङले सम्पर्क समाजले विगतदेखि नै समुदायमा सकारात्मक काम गर्दै आएको र यसले गाउँ र सहरबिचको सम्बन्ध सुदृढ बनाउने कार्यमा अग्रणी भूमिका खेलेको बताए। उनले यस्तो संस्थाको निरन्तरता समाज विकासका लागि अत्यावश्यक रहेको धारणा राखे।
त्यस्तै, विशिष्ट अतिथि तिवारीले अर्जुनचौपारी गाउँपालिकाका नागरिकहरू जहाँ बसे पनि आपसी सद्भाव र पहिचानको जगेर्ना गर्नुपर्नेमा जोड दिँदै सम्पर्क समाजको कार्यप्रति प्रशंसा गरे।

साथै समितिमा रहेर उत्कृष्ट काम गर्ने सचिव गोविन्द सापकोटा  र कोषाध्यक्ष महेश्वर रिमाललाई अध्यक्ष जमुना काफ्ले  चापागाईँले प्रशंसा पत्र  प्रदान गरेको  उक्त कार्यक्रममा समाजका ज्येष्ठ नागरिकहरू र सहयोगदाताहरूलाई सम्मान गरिएको थियो। समाजले उनीहरूलाई सम्मान पत्र र प्रतीक चिह्न प्रदान गर्दै समुदायमा पुर्‍याएको योगदानका लागि धन्यवाद ज्ञापन गरेको थियो। 

कार्यक्रमको प्रमुख आकर्षणको रूपमा सम्पन्न अधिवेशनले गोविन्द काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्षहरूमा गोविन्द सापकोटा, तारा कुमारी अधिकारी र प्रताप पौडेल, सचिवमा विजय कुमार खड्का क्षेत्री, सह–सचिवमा अम्बिका घिमिरे, कोषाध्यक्षमा टिकाराम ढुङ्गाना, र सह–कोषाध्यक्षमा तुलसी प्रसाद पौडेल चयन भएका छन्। त्यस्तै सदस्यहरूमा प्रेमलाल लम्साल, मञ्जु पौडेल, पवित्रा थापा, गोमा केसी, रामदेवी रोका, उदय बहादुर कुवर, लेखनाथ खनाल, सावित्री सिग्देल र चेत नारायण पौडेल रहेका छन्। साथै, कार्यक्रम संयोजकको जिम्मेवारी डुक प्रसाद काफ्लेलाई दिइएको छ।

नव–निर्वाचित अध्यक्ष गोविन्द काफ्लेले धन्यवाद ज्ञापन गर्दै सम्पर्क समाजलाई अझ सशक्त, पारदर्शी र योजनाबद्ध बनाउने प्रतिबद्धता जनाए। उनले समाजले पोखरा बसोबास गर्ने अर्जुनचौपारीवासीबीच एकता र आत्मीयता बढाउने उद्देश्यका साथ शैक्षिक सहयोग, स्वास्थ्य सहायता, सामाजिक उत्तरदायित्व र आपत्कालीन राहत कार्यक्रमहरू अघि बढाउने योजना रहेको बताए।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले पोखरामा रहेका अर्जुनचौपारी क्षेत्रका बासिन्दाबिच एकता, सहयोग र सांस्कृतिक पहिचानको संरक्षणमा निरन्तर योगदान दिने सङ्कल्प व्यक्त गरे।

Top Post Ad

post bottom ads

Ads Bottom