Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

वेलनेस टुरिजमको गन्तव्यतिर अर्जुनचौपारी : नेपालमै पहिलो पटक ध्वनि–चिकित्सा सेवा सुरु

 


स्याङ्जा, अर्जुनचौपारी ।
अर्जुनचौपारी गाउँपालिकाले नेपालमै पहिलो पटक ध्वनि चिकित्सा (Sound Healing) पद्धतिद्वारा उपचार सेवा औपचारिक रूपमा सुरु गरेको छ। गाउँपालिकाले बुधबार एक विशेष समारोहकाबीच साउण्ड हिलिङ सेन्टर स्थापना गरी सेवा शुभारम्भ गरेको हो।

गाउँपालिका–१ स्थित नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा अमृत वेलाको शुभ साइतमा गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले उक्त सेवाको उद्घाटन गर्नुभयो।
अध्यक्ष तिवारीका अनुसार मानिसको व्यस्त जीवनशैलीका कारण तनाव बढ्दै जाने, परिणामस्वरूप शरीरको ऊर्जा कमजोर भई रोगसँग लड्ने क्षमता घट्ने भएकाले ध्वनि उपचार उपयोगी बन्ने विश्वास गरिएको छ।
उहाँले भन्नुभयो— “ऊर्जा क्षीण हुँदा शरीरले प्राकृतिक रूपमा निको पार्ने शक्ति गुमाउँछ। यस्तो अवस्थामा ध्वनि उपचार वरदान सावित हुन सक्छ।”

ध्वनि उपचारको उद्देश्य

गाउँपालिकाले सात धातुबाट बनेका विशेष उपकरणहरू प्रयोग गरी—

  • शरीर, मन र आत्मालाई ध्वनिद्वारा शुद्ध गर्ने
  • शरीरका सप्त चक्र सक्रिय बनाउने
  • सकारात्मक सोचको विकास गर्ने
  • तनाव घटाई ऊर्जा प्रवाह बढाउने जस्ता 
     उद्देश्य राखेको छ।

अध्यक्ष तिवारीका अनुसार गाउँपालिकामा भइरहेका विभिन्न नवप्रवर्तनमूलक कार्यक्रमहरूमध्ये ध्वनि चिकित्सा प्रमुख प्रोजेक्ट हो, जसलाई वेलनेस टुरिजमसँग पनि जोडेर अगाडि बढाउने लक्ष्य छ।

उपाध्यक्ष सपना गुरुङले ध्वनि चिकित्सा पद्धतिलाई नेपालमै पहिलो पटक गाउँपालिकाबाट सुरु गरिएको उल्लेख गर्दै नवग्रह मन्दिरमा भित्रिने भक्तजन तथा सेवा चाहने जो कोहीलाई उपलब्ध गराउने योजना रहेको बताउनुभयो।

वडा–१ का अध्यक्ष रणबहादुर थापा, वडा–४ का अध्यक्ष भुवनसिंह गुरुङलगायतका वक्ताहरूले ध्वनि उपचारले मानसिक, शारीरिक तथा आत्मिक सन्तुलन कायम गर्न योगदान पुर्‍याउने भन्दै यस्तो प्राकृतिक चिकित्सा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

मुख्य प्रशासकीय अधिकृत युवराज अर्यालका अनुसार सेवा सञ्चालनका लागि

  • छुट्टै उपचार कक्ष
  • आवश्यक ध्वनि उपकरण
  • तालिमप्राप्त जनशक्ति

  • समेतको व्यवस्थापन भइसकेको छ।

ध्वनि उपचार के हो ?

ध्वनि उपचार प्राचीन प्राकृतिक चिकित्सा पद्धति हो, जसले शरीरका ऊर्जा क्षेत्र र चक्रहरूमा प्रत्यक्ष प्रभाव पार्छ।

  • विशेष तरङ्ग (frequency) ले मस्तिष्क र स्नायु प्रणाली सन्तुलित बनाउँछ।
  • शरीरको ऊर्जा क्षेत्र पुनर्स्थापित गर्छ।
  • मानसिक तनाव, क्रोध, रिस, ईर्ष्या जस्ता नकारात्मक भाव कम गर्न मद्दत गर्छ।
  • मन, शरीर र आत्मालाई शान्त, स्थिर र ऊर्जावान बनाउँछ।

उपचारका क्रममा चिकित्सकले ध्वनि कचौरा, घण्टी र अन्य वाद्ययन्त्र बजाई शरीरमा कम्पनमार्फत उपचार प्रक्रिया अघि बढाइन्छ।

ध्वनि उपचारको मूल सार “गुञ्जन (Vibration)” नै हो, जसले शरीर र मनमा रहेका विकारलाई बिस्तारै निको पार्ने मान्यता छ।

Top Post Ad

post bottom ads

Ads Bottom