प्युठानको गौमुखी गाउँपालिका–५ ठुलावेशीमा मंसिर १ गते भएको जिप दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक युवनकुमार चौधरीका अनुसार पक्राउ परेका व्यक्ति गुल्मी, मदाने गाउँपालिका–१ निवासी २३ वर्षीय विनोद कुँवर हुन्। अनुसन्धानका क्रममा दुर्घटना भएको लु.प्र.०१–००१ च ३५०२ नंम्बरको जिप उनीकै नियन्त्रणमा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मदाने गाउँपालिका–१ का १२ वर्षीय सुजन खत्रीको घटनास्थलमै मृत्यु भएको थियो। चालक कुँवर भने दुर्घटनापछि फरार भएका थिए।
सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी कुँवरलाई शुक्रबार प्युठान जिल्ला अदालतमा पेश गरिएको र अदालतले ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक चौधरीले बताए।






