मङ्सिर ९ गते । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको भीषण बाढीले रसुवागढी नाकास्थित नेपाल–चीन सीमा जोड्ने मितेरी पुल बगाएपछि पाँच महिनादेखि यो नाका पूर्णरूपमा ठप्प बनेको छ। व्यापारिक रूपमा संवेदनशील मानिने यो नाका बन्द हुँदा सरकारले झन्डै १४ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गुमाएको रसुवा भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षका चार महिना—साउन, भदौ, असोज र कार्तिक—का लागि १३ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य राखिएको थियो। तर मितेरी पुलसहित भन्सार यार्ड र सडक संरचनामा व्यापक क्षति पुगेकाले लक्ष्यअनुसार राजस्व संकलन हुन सकेन। नाका बन्द हुँदा करिब ३०० भन्दा बढी मालबाहक कन्टेनर भन्सार प्रक्रिया नै रोकिएर थन्किएका छन्।
व्यापारीहरूले चीनबाट आयात गरिएका सामग्री पाँच महिनादेखि ढुवानी हुन नसक्दा लाखौँ–करोडौँको आर्थिक क्षति व्यहोरिरहेको बताएका छन्। बाढीका कारण मानवीय क्षति पनि भएको थियो भने कन्टेनर तथा ट्रकहरू बगाउँदा नाका क्षेत्र पूर्ण रूपमा अस्तव्यस्त बनेको थियो।
नाका खुल्न नसक्दा नेपाल–चीनबीचको अस्थायी व्यापार मार्ग पनि पूर्णरूपमा अवरुद्ध छ। संघीय राजधानी काठमाडौंबाट १३२ किलोमिटर दूरीमा रहेको रसुवागढी नाका राजस्व संकलनका आधारमा देशकै महत्वपूर्ण व्यापारिक नाका मानिन्छ। उत्तरी छिमेकी चीनसँगको मुख्य व्यापारिक द्वारका रूपमा विकसित हुँदै आएको यो नाका ल्हेन्दे खोलाको बाढीपछिका क्षतिग्रस्त संरचना पुनर्निर्माण नहुँदा अझै सञ्चालनमा आउन सकेको छैन।






