मङ्सिर ९ गते । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित साप्ताहिक हाटबजारमा बिक्री गरिएको बंगुरको मासुमा ‘अफ्रिकन स्वाइन फिभर’ सङ्क्रमण पुष्टि भएपछि रामग्राम नगरपालिकाले तत्काल प्रभावबाट मासु बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै हाटबजारमा कुनै पनि प्रकारको बंगुर/सुंगुरको मासु बिक्री गर्न नपाइने स्पष्ट निर्दे गर्नुभएको हो।
गत कात्तिक २६ गते दुई जनाले परासी हाटबजारमा शङ्कास्पद मासु बिक्री गरिरहेको अवस्थामा भेटिएपछि पशु रोग अन्वेषण प्रयोगशालाले नमुना परीक्षण गरेको थियो। परासीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पोजेटिभ देखिएपछि पुष्टि गर्न पठाइएको काठमाडौँस्थित प्रयोगशालामा पनि सोही नतिजा आएपछि जोखिमलाई ध्यानमा राख्दै कडाइ गर्ने निर्णय गरिएको हो।
यसपछि जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै हाटबजारमा बंगुरको मासु विक्री–वितरण नगर्न निर्देशन दिएको छ। प्रशासनले संक्रमित तथा रोगी बंगुरहरू घरभित्र बिक्री नभएपछि किसानहरूले बजारमा ल्याएर बेच्ने प्रयास गर्ने गरेको भन्दै यस्तो व्यवहारले संक्रमणको दायरा बढाउन सक्ने चेतावनी दिएको छ।
सुनवलका बंगुर किसान पृतम गुरुङका अनुसार भारतबाट तस्करीमार्फत रोगी बंगुर ल्याइने क्रम नरोपिएको र सीमा नियमन कडाइ नभएकाले स्थानीय उत्पादन जोखिममा परेको छ। “भारतबाट बिना परीक्षण ल्याइने बंगुरका कारण किसानहरूले पाल्दै आएको बंगुर एकैपटक मरिरहेका छन्,” गुरुङले गुनासो गर्नुभयो। उहाँका अनुसार स्थानीय प्रशासनले समयमै चासो नदिँदा समस्या थपिएको हो।
रामग्राम क्षेत्रका केही फर्ममा पनि बंगुर बिरामी परेको भेटेरिनरी सेवा केन्द्रले पुष्टि गरेको छ। पशु सेवा विभागले ‘अफ्रिकन स्वाइन फिभर’ लाई निकै उच्च मृत्युदर हुने अति खतरनाक महामारीजन्य रोगका रूपमा वर्गीकृत गरेको छ। विशेषज्ञहरूले किसानहरूलाई कडाइका साथ जैविक सुरक्षा अपनाउन, बाहिरी स्रोतबाट बंगुर भित्र्याउने काम तत्काल रोक्न तथा संक्रमित फर्म नजिक जान–आउन नदिन आग्रह गरेका छन्।






