काठमाडौं, मङ्सिर २९ — विशेष अदालतले पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०६९ मङ्सिर २५ गतेको निर्णय (सक्कल फाइल) मगाउने आदेश दिएको छ।
पतञ्जली योगपीठको जग्गा सट्टापट्टा अनियमितता प्रकरणमा न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त आदेश गरेको हो। अख्तियारले गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध हदबन्दीभन्दा बढी जग्गा खरिद–बिक्री गराई सरकारी सम्पत्ति हिनामिना र हानि/नोक्सानी गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा माधव नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय मागदाबी गरिएको छ।






