Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आफूलाई ‘सइ’ बताउँदै सहकर्मीलाई गाली गर्ने प्रहरी हवल्दारमाथि निलम्बन प्रक्रिया अघि बढाइयो


रौतहट । आफूलाई प्रहरी सहायक निरीक्षक (सइ) बताउँदै छोराको खोजीमा सहयोग मागेका सहकर्मीलाई फोनमै अपमानजनक गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत हवल्दार बुधन महतोमाथि निलम्बन प्रक्रिया अघि बढाइएको छ।

घटनाको अडियो सार्वजनिक भएसँगै प्रहरी संगठनको कार्यशैलीमाथि प्रश्न उठेपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको थियो। त्यसलगत्तै रौतहट प्रहरीले हवल्दार महतो र गालीगलौजबाट पीडित भनिएका हवल्दार सुरेश यादवलाई थप अनुसन्धानका लागि जनकपुर पठाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले दुवै प्रहरी कर्मचारीबीच भएको संवाद र घटनाबारे अनुसन्धान भइरहेको बताए। सार्वजनिक अडियोमा दुवै पक्षबाट कमजोरी देखिएको उल्लेख गर्दै उनले महतोले आफूलाई सइ बताएको र सहकर्मीमाथि गरेको अभद्र व्यवहारबारे छानबिन हुने जानकारी दिए।

प्रहरी प्रमुख रिजालका अनुसार हवल्दार यादवले पनि घटनाबारे कार्यालय प्रमुखलाई जानकारी नगराई अडियो सार्वजनिक गरेको विषयमा प्रश्न उठेको छ।

घटनाको पृष्ठभूमिमा यादवका १७ वर्षीय छोरा चन्दनकुमार यादव बेपत्ता भएको विषय छ। नेपाल प्रहरीको जनकपुर गणबाट थप मद्दतका लागि रौतहटको चन्द्रपुर–९ स्थित डुमरिया इलाका प्रहरी कार्यालय (सुरक्षा बेस) मा खटिएका यादवका छोरा दुई दिनअघि गौरस्थित घरबाट हराएका थिए।

एसईई उत्तीर्ण गरेपछि अध्ययनका लागि काठमाडौंमा बस्दै आएका चन्दन छठ पर्व मनाउन घर आएका बेला बेपत्ता भएको बताइएको छ। छोराको खोजी तथा उद्धारका लागि सहयोग माग्दै यादवले शुक्रबार जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा सम्पर्क गरेका थिए। त्यहाँबाट सञ्चार शाखामा जानकारी गराउन भनिएपछि उनले उक्त शाखामा फोन गरेका थिए।

सार्वजनिक अडियोमा यादवले फोन उठाउने व्यक्तिसँग आफ्नो परिचय सोध्दै ‘हवल्दारसाहेब कि असइसाहेब’ भनेर प्रश्न गरेको सुनिन्छ। त्यसपछि महतोले आफू सइ भएको बताउँदै ‘जय नेपाल’ नगरेको र बोल्ने शैली नमिलेको भन्दै यादवलाई झपारेको तथा अपमानजनक शब्द प्रयोग गरेको सुनिन्छ।

घटनाबारे चौतर्फी आलोचना भएपछि मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालले विज्ञप्ति जारी गर्दै सञ्चार शाखा र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीचको संवादमा प्रयोग भएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

घटनाको छानबिनसँगै सम्बन्धित प्रहरी कर्मचारीमाथि आवश्यक विभागीय कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom