Breaking Posts

Type Here to Get Search Results !

सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक, मंसिर ४ को चुनावमा पनि सिटको भागबण्डामा नै केन्द्रित दलहरु - Brighter Khabar

Top Post Ad


काठमाडौं , भाद्र १ । 
सत्ता गठबन्धनको कार्यदलले बैठकमा अहिलेसम्म भएका छलफलको विवरण शीर्षस्थ नेतालाई अवगत गराउने भएको छ। बुधबारको बैठकले यस्तो निर्णय गरेको कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो। 

मन्त्री कार्कीले भने , “जुन जिम्मेवारी कार्यदललाई सुम्पेको छ, त्यो पुरा गर्ने अन्तिम चरणमा पुगेका छौं। अहिलेसम्मका छलफलका विवरण शीर्षस्थ नेताहरुलाई अवगत गराउनेछौं।” छलफलका विवरण शीर्ष नेताले अध्ययन गरेपछि सहमति सार्वजनिक हुने उनको  भनाइ छ। 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको निर्णयमा पुग्ने सहमतिका साथ आजको बैठक सकिएको उनको भनाइ छ । सत्ता गठबन्धनका शीर्षस्थ नेताहरुलाई कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले भेट गरेपछि कार्यदलका सदस्यसँग छलफल गर्नेछन् । 

मन्त्री कार्कीले भने , “विभिन्न मोडालिटीमा छलफल गरेका छौं। तिनै मोडालिटीलाई केन्द्रमा राखेर सिट विभाजनकै कुरा छ, त्यसको निष्कर्षको चरणतर्फ अगाडि बढ्नेछौं।” यसले मुलुकलाई सकारात्मक सन्देश दिएको उनको  भनाइ छ। 

मन्त्री कार्कीले न्यायपूर्ण तरिकाले सिट विभाजन गर्ने विषयमा गठबन्धनका सबै दलको सहमति रहेको बताए । “लामो छलफल भएको छ, मुलुकका निमित्त सकारात्मक छलफल भएको छ। निष्कर्षका लागि दुई दिन प्रतिक्षा गर्नुहोस्”, उनले भने । 

पछिल्लो समय सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)कै चुनाव चिह्नमा डा. बाबुराम भट्टराई पनि गठबन्धनकै दलका रुपमा जोडिन आएपछि यो विषयसमेत छलफलमा प्रवेश गरेको मन्त्री कार्कीले बताए । यी लगायतका विषयमा शीर्षस्थ नेताहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने उनको  भनाइ छ। 

सत्ता गठबन्धनले आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्न साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेको थियो। त्यसयता निरन्तर कार्यदलको बैठक बस्दै आएको छ। कार्यदलमा नेपाली कांग्रेसबाट सिटौलासहित महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट डा. वेदुराम भुषाल, प्रमेश हमाल रहेका छन् ।

यसैगरी, जनता समाजवादी पार्टीबाट रामसहाय प्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । 

post bottom ads

Ads Bottom