पोखरा महानगरपालिका–१५, नयाँ गाउँमा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा प्राथमिक तहका विद्यार्थीहरूका लागि अङ्ग्रेजी हिज्जे (Spelling) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यालयको वार्षिक कार्यपात्रो अनुसार विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त प्रतियोगितामा प्राथमिक तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूको अङ्ग्रेजी भाषामा दक्षता अभिवृद्धि गर्ने, शब्दज्ञान बढाउने तथा आत्मविश्वास विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरूमा सुवानी खड्का, पल्लव आचार्य, रिदम गुरुङ र न्युजल गुरुङ रहेका छन् भने द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूमा पूजा ढकाल, एरिना कार्की, साइमन गुरुङ र केरिन गुरुङ रहेका छन्।
त्यसैगरी विद्यालयकी प्राचार्य शर्मिला गुरुङले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शैक्षिकसँगै अतिरिक्त क्रियाकलापहरू आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रम अन्त्यमा सफल विद्यार्थीहरूलाई बधाई तथा सहभागी सबै विद्यार्थीहरूलाई प्रोत्साहन दिइएको थियो। विद्यालय परिवारले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने शिक्षक, विद्यार्थी तथा अभिभावकहरूप्रति धन्यवाद ज्ञापन गरेको छ।






