जेठ २९ गते । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालन भइरहेको केन्द्रीय क्यान्टिनमा अखाद्य खाद्यवस्तु फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ।
विभागको अनुगमन टोलीले क्यान्टिनमा घुन परेका चनाका दाल, ओस लागेका बदाम तथा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका अण्डा भेटेपछि सञ्चालकलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।
अनुगमनका क्रममा करिब १७ किलोग्राम चनाको दाल, ११ किलोग्राम बदाम र १४ वटा फुटेका अण्डा फेला परेका थिए। ती सामग्री उपभोगका लागि अनुपयुक्त ठहर गर्दै नष्ट गरिएको विभागले जनाएको छ। नष्ट गरिएका वस्तुको अनुमानित मूल्य छ हजार पाँच सय ६० रुपैयाँ बराबर रहेको बताइएको छ।
उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपद्वारा सञ्चालन हुँदै आएको छ।
यसैबीच, विभागले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा सञ्चालित जय छुमा गणेश शुद्ध खानेपानी प्रालिलाई पनि आवश्यक खरिद सम्बन्धी कागजात नराखेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागका अनुसार आज उपत्यकाका विभिन्न १२ वटा व्यावसायिक प्रतिष्ठानमा बजार अनुगमन गरिएको थियो।





