पोखरा, ०९ वैशाख । कास्कीका निजी शैक्षिक संस्थाहरू सँग सम्बन्धित हिसान ,युनिप्स नेपाल, प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा ब्रिज कोर्सको औचित्य नरहेको भन्दै महानगरको निर्णयलाई समर्थन गरेका छन् ।
कक्षा १० को एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरूको लागि सीपमूलक तालिम, घरायसी व्यवहार, भ्रमण, स्वअध्ययन र कक्षा १० कै कोर्सको पुनरावृत्ति गर्ने जस्ता काममा लाग्न प्रेरित गर्नुपर्ने भन्दै ५ वटै संस्थाहरूले ब्रिज कोर्सको औचित्य नरहेको बताएका हुन् ।
''कक्षा ११ को भर्नाका लागि भनेर सञ्चालित ब्रिज कोर्सका कार्यक्रम माथि स्थानीय सरकारले प्रतिबन्ध लगाएको, यही उद्देश्यका लागि ब्रिज कोर्सको औचित्य पनि नरहेको र विद्यार्थीलाई प्राप्त यो समय उनीहरूको मानसिक थकान मेट्न व्यवहारिक सिप सिक्न र स्वअध्ययनमा लगाउन अत्यन्त ठुलो अवसर भएकोले त्यसको लाभ लिन उपयुक्त हुने अनुरोध गर्दै बाल मनोविज्ञान र स्थानीय सरकारको नीति तथा निर्देशन विपरीतका गतिविधिलाई निरुत्साहित गर्दै विशुद्ध शैक्षिक कार्यकलापलाई सहयोग पुर्याइदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरू समक्ष हार्दिक अपिल गर्दछौँ ।'' संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ ।
पोखरा महानगरपालिकाले ब्रिज कोर्सका नाममा विद्यार्थी अलमल्याउने तर ठोस उपलब्धि नहुने भएकाले शिक्षाविद्हरूको परामर्शमा कास्कीमा सञ्चालित ब्रिज कोर्सका कक्षाहरू बन्द गर्न निर्देशनसहित सार्वजनिक सूचना जारी गरिसकेको अवस्थामा यी संस्थाहरूले पनि सो निर्णयलाई समर्थन गरेका हुन्।
साथै प्रमाण पत्र बिना अन्य कक्षाहरूमा भर्ना गर्न नमिल्ने भएको हुँदा विद्यालय छाड्नु पर्ने भएमा विद्यालयलाई जानकारी दिएर प्रमाण पत्र लिने र विद्यालयले पनि दिनुपर्ने प्रावधान रहेको कुरा विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ :
''हालको विद्यालय संरचनाले कक्षा १-८ लाई आधारभूत तह र कक्षा ९-१२ लाई माध्यमिक तह मानेको विदित नै छ । यस प्रावधानअनुसार जसरी कक्षा ८ पास गरेपछि कक्षा १ मा भर्ना हुन कुनै ब्रिज कोर्स गर्नुपर्दैन त्यसरी नै कक्षा १० पास गरेपछि ११ मा भर्ना हुन कुनै ब्रिज कोर्स गर्नुपर्दैन । विद्यार्थीले १० कक्षा पास गरेपछि आफूले चाहेको विषय रहेछ भने सोही विद्यालयमा कक्षा ११ मा भर्ना हुन पाउने र रोजेको विषय नभए अर्को विद्यालयमा जान सक्ने विकल्प छ । यस्तो अवस्थामा ब्रिज कोर्सका नाममा विद्यार्थी अलमल्याउने तर ठोस उपलब्धि नहुने महसुस गरेर शिक्षाविद्हरूको परामर्शमा पोखरा महानगरपालिकाले यहाँ सञ्चालित ब्रिज कोर्सका कक्षाहरू बन्द गर्न निर्देशनसहित सार्वजनिक सूचना समेत प्रकाशन गरेको छ । यो सन्दर्भबारे जानकारी गराउँदै कक्षा १० SEE को परीक्षा दिएर बसे का आफ्ना बाबु नानीलाई सीपमूलक तालिम, घरायसी व्यवहार, भ्रमण, स्वअध्ययन र कक्षा १० कै कोर्सको पुनरावृत्ति गर्ने जस्ता काममा लाग्न प्रेरित गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ । कक्षा ११ को भर्नाका लागि भनेर सञ्चालित ब्रिज कोर्सका कार्यक्रम माथि स्थानीय सरकारले प्रतिबन्ध लगाएको, यही उद्देश्यका लागि ब्रिज कोर्सको औचित्य पनि नरहेको र विद्यार्थीलाई प्राप्त यो समय उनीहरूको मानसिक थकान मेट्न व्यवहारिक सिप सिक्न र स्वअध्ययनमा लगाउन अत्यन्त ठुलो अवसर भएकोले त्यसको लाभ लिन उपयुक्त हुने अनुरोध गर्दै बाल मनोविज्ञान र स्थानीय सरकारको नीति तथा निर्देशन विपरीतका गतिविधिलाई निरुत्साहित गर्दै विशुद्ध शैक्षिक कार्यकलापलाई सहयोग पुर्याइदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरू समक्ष हार्दिक अपिल गर्दछौँ । पुनश्च : प्रमाण पत्र बिना अन्य कक्षाहरूमा भर्ना गर्न नमिल्ने भएको हुँदा विद्यालय छाड्नु पर्ने भएमा विद्यालयलाई जानकारी दिएर प्रमाण पत्र लिने र विद्यालयले पनि दिनुपर्ने प्रावधान रहेकाले त्यसै अनुसार गर्नु गराउनु हुन सबैमा अनुरोध गरिन्छ ।''





