काठमाडौं, चैत ३०।नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल चुनिएका छन् ।
चैत २८, २९ र ३० गते सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघले ५७ औ वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको चयन गरेको हाे । साधारणसभा सम्पन्न सँगै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष भएका छन् ।
महासंघको नव-निर्वाचित अध्यक्षको रुपमा ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धन गर्ने तथा स्वदेशी-विदेशी लगानी प्रर्वद्धन सँगसगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राखेका छन् ।
वरिष्ठ उपाध्यक्षको कार्यकालमा हरेक प्रदेशमा कम्तीमा एउटा ठूलो पूर्वाधारमा लगानी गर्ने अध्यक्ष ढकालको लक्ष्य पूरा हुनै लागेको छ ।
महासंघ अध्यक्षको अबको कार्यकालमा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवद्र्धन प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्य लिएको अध्यक्ष ढकालले बताए ।




