बुधबार अपराह्न करिब ४:११ बजे पोखरा महानगरपालिका–१७ बिरौटामा बस्दै आएकी ४७ वर्षीया मुना तिवारीमाथि उनका ज्वाइँ ४३ वर्षीय ध्रुवराज अधिकारीले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। अधिकारीको स्थायी घर लमजुङको मध्यनेपाल नगरपालिका–२ रहेको बताइएको छ।
चक्कु प्रहारबाट घाइते तिवारीको पेट, छाती तथा ढाडमा चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि पोखरा–१७ स्थित अस्पतालमा लगिएको थियो। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनामा अधिकारीकी श्रीमती तथा घाइतेकी छोरी २८ वर्षीया सङ्गीता तिवारीको समेत संलग्नता रहेको आशंका गरिएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





