कात्तिक ११ गते । शरद ऋतुमा हिमालमा आरोहणका लागि दिइएको अनुमतिबाट सात करोड रुपियाँभन्दा बढी रकम राज्य कोषमा दाखिल भएको छ । पर्यटन विभागका अनुसार शरद ऋतुमा ४१ वटा हिमाल आरोहणका लागि दिइएको अनुमतिबापत सात करोड ३४ लाख ८९ हजार ६०९ रुपियाँ हिमाली दस्तुर राजस्व सङ्कलन भएको हो ।
विभागका निर्देशक राकेश गुरुङले यो वर्ष आरोहण अनुमति दिइएका ४१ वटा हिमालमध्ये सबैभन्दा बढी मनासलुमा आकर्षण देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मनासलुमा आरोहण अनुमति लिएका २८ समूहका ३०८ जनाबाट मात्रै तीन करोड ७१ लाख ४३ हजार १४३ रुपियाँ राजस्व सङ्कलन भएको छ ।” यस वर्ष मनासलुपछि सबैभन्दा बढी अमादब्लमबाट एक करोड ६९ लाख ४२ हजार ९६०, हिमलुङ्गबाट ४८ लाख १७ हजार २१६, धवलागिरि पहिलोबाट १६ लाख ८९ हजार ३० रुपियाँ, बरुन्त्सेबाट १५ लाख तीन हजार ७७४ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
४१ वटै हिमाल आरोहण गर्न यो वर्ष १३५ समूहका ८४१ जना पुरुष र २५१ जना महिलासहित एक हजार ९२ जना आरोहीले आरोहण अनुमति लिएका छन् । विभिन्न हिमाल आरोहणका लागि नेपालसहित ७२ देशका आरोहीले यस वर्ष अनुमति लिएको विभागले जनाएको छ ।





