फाल्गुन ७, सुर्खेतबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस गएराति दाङको बबईमा दुर्घटनाग्रस्त भएको छ, जसमा १४ यात्रु घाइते भएका छन्। कर्णाली प्रदेश ०२-००१ ख ०७०१ नम्बरको बस मंगलबार राति करिब ९:३० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बबई गाउँपालिका-२ तल्लो ट्वाङ्खोलाको घुम्तीमा अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाले जानकारी दिए ।
घटनापछि उद्धार गरिएको यात्रुमध्ये अधिकांशलाई प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिएको प्रहरी निरीक्षक रोकायाले बताएका छन्। उनका अनुसार, "गम्भीर चोट लागेका केही बिरामीलाई अझै उपचार गरिँदै छ। तीमध्ये केहीलाई कोहलपुरस्थित अस्पतालमा रेफर गरिएको छ भने अन्यको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।" प्रहरी स्रोतका अनुसार सबै घाइतेको अवस्था खतरा मुक्त रहेको छ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार बस तीव्र गतिमा मोड काट्ने क्रममा अनियन्त्रित भई पल्टिएको हुनसक्ने आशंका गरिएको छ।





