फागुन १३ गते – सशस्त्र प्रहरी बलमा कार्यरत निरीक्षक सन्तोषी महतको निधन प्रकरणमा प्रहरी निरीक्षक विवेक जोशी पक्राउ परेका छन्। महतको परिवारले आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै आइतबार जोशीविरुद्ध किटानी जाहेरी दिएपछि सोमबार साँझ उनलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार जोशीमाथि अनुसन्धान अघि बढाइएको छ। महतको शव आइतबार ब्यारेकस्थित महिला शौचालय नजिकैको बिममा झुन्डिएको अवस्थामा फेला परेको थियो।
सिन्धुपाल्चोककी २८ वर्षीया महत २०७२ सालमा सशस्त्र प्रहरी बलमा प्रवेश गरेकी थिइन्। हाल उनी पोखराको हुल तथा दङ्गा व्यवस्थापन तालिम केन्द्र, लामापाटनमा कार्यरत थिइन्। पक्राउ परेका प्रहरी निरीक्षक जोशी भने तनहुँमा कार्यरत रहेको बुझिएको छ।
महत र जोशीबीच प्रेम सम्बन्ध रहेको र जोशीकै कारण महतले आत्महत्या गर्न बाध्य भएको भन्दै परिवारले उजुरी दिएको छ। घटनाको गम्भीरता हेर्दै सशस्त्र प्रहरी बलले प्रहरी नायब महानिरीक्षक लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।





