फागुन १४ गते, रुकुमपश्चिम। चौरजहारी नगरपालिका-१, बसपार्क नजिकै गुडिरहेको एक मोटरसाइकलमा एक्कासि आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार, बुधबार बिहान नगरपालिका-१० निवासी विजय देवकोटाले चलाएको रा ५ प ५१८५ नम्बरको मोटरसाइकलमा आगलागी भएको हो। घटना नजिकै रहेको पेट्रोल पम्पबाट पेट्रोल हालेर फर्कने क्रममा भएको बताइन्छ। पेट्रोल लिक भई प्लगको झिल्को लाग्दा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार चालक देवकोटा र पछाडि सवार प्रदीप ढकाल सकुशल रहेका छन्। देवकोटाले मोटरसाइकलमा अचानक आगो दन्किएपछि तत्कालै छोडेर ज्यान जोगाएको जानकारी दिएका छन्।
पेट्रोल पम्पबाट करिब २० मिटर पर पुगेका बेला आगलागी भएपछि दुबै जना तत्काल मोटरसाइकल छोडेर भागेका थिए। प्रहरीका अनुसार, मोटरसाइकलका धनी चौरजहारी नगरपालिका-६ निवासी दिनेश बोहरा रहेको खुलेको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।





